काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो । यसैको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ ।

सोमबार देशभर मौसम सामान्यतया बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ ।