काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिएको छ ।
कर्णाली याक्सले एनपिएल मिनी अक्सनअघि नै प्रशिक्षकको टुंगो लगाउँदै मल्ललाई दोस्रो सिजनका लागि पुनः नियुक्त गरेको हो । मल्लले पहिलो सिजनमै कर्णालीको टोली सम्हालेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले साउन (अगस्ट) महिनामा मिनी अक्सन गर्ने तयारी गर्दैछ भने मंसिर (नोभेम्बर) मा दोस्रो सिजनको आयोजना गर्ने घोषणा गरिसकेको छ ।
यस सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडीका रूपमा सोमपाल कामी लाई रिटेन गरेको छ । त्यससँगै गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरी पनि कर्णालीमै कायम रहनेछन् ।
यसअघि काठमाडौं गोर्खाजले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ । अन्य फ्रेन्चाइज टोलीहरू पनि मिनी अक्सन र टिम व्यवस्थापनको अन्तिम तयारीमा छन् ।