चितवन । यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।
नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उहाँले भन्नुभयो, “माडी नगरपालिका सधँै रेबिजको जोखिममा छ ।”

रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उहाँले बताउनुभयो । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।
रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन ।” रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ ।
चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती छ ।” हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ ।