काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भगवती न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छिन् । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेका लागि तय गरिएको हो । मन्त्री गुप्तालाई प्रधानमन्त्री ओलीले मंगलबार पदमुक्त गरेका थिए । उनीमाथि एक ठेकेदारसँग घुस मागेको आरोप लागेपछि प्रधानमन्त्रीले छानबिन अघि बढाउँदै पदबाट हटाएका हुन् ।

नवनियुक्त मन्त्री न्यौपाने नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् । विगतमा स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभामा भने निर्वाचित भएकी थिइन् । शपथ ग्रहणलगत्तै उनले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।