काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभाव आज थप बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको आकलन गर्दै अन्य प्रदेशमा पनि सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहँदा देशभर बदली र वर्षाको क्रम जारी रहनेछ ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा पनि यस्तै वर्षा हुनेछ ।

विशेषगरी, कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । यसैगरी, कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना औंल्याइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
आज राति पनि मौसममा सुधारको संकेत देखिएको छैन । देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । रातिको समयमा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको जलस्तर बढ्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाको विशेष आग्रह छ ।