काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ र जनमुखी बनाउन नयाँ अभियान तथा नीतिगत निर्णयहरू अघि सारेको छ । पार्टीको संगठन विभागले गरेका निर्णयअनुसार अबदेखि पार्टी सदस्यता नवीकरणका लागि परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । साथै, विगतको ‘जरा अभियान’ को सिको गर्दै जनताको घरदैलोमा पुगेर जनसेवाका कार्यलाई निरन्तरता दिने अभियानमा विशेष जोड दिइने भएको छ ।
विभागका सचिव माधव ढुंगेलका अनुसार पार्टी सदस्यतालाई थप व्यवस्थित र मर्यादित बनाउन नवीकरण प्रक्रियामा कडाइ गरिएको हो । अब सदस्यहरूले नवीकरणअघि अनिवार्य परीक्षा दिनुपर्नेछ, जसका लागि यथासम्भव अनलाइन प्रणालीको प्रयोग गरिनेछ । ‘हरेक वर्ष तोकिएको समयमा सदस्यता नवीकरण गर्ने प्रणालीलाई कडाइका साथ स्थापित गरिनेछ,” ढुंगेलले भने, “यसले पार्टी सदस्यहरूलाई वैचारिक र संगठनात्मक रूपमा थप परिपक्व बनाउने अपेक्षा छ ।’

विभागले पार्टीको सांगठनिक विस्तारलाई पनि उच्च प्राथमिकतामा राखेको छ । हाल कायम रहेको सदस्य संख्यालाई बढाएर कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । यसका लागि देशभरका करिब १७ हजार टोलमा पार्टी कमिटी गठन गरी तिनलाई पूर्ण रूपमा सक्रिय बनाइने र नियमित अधिवेशन गराइने योजना छ । पार्टीका सम्पूर्ण सदस्यहरूको अभिलेखलाई अनलाइन प्रणालीमा अद्यावधिक गर्ने कार्यलाई पनि तीव्रताका साथ टुंग्याइने भएको छ ।
पार्टीले समाजका सबै तह र तप्कासँग सम्बन्ध जोड्न नयाँ अभियानहरू पनि घोषणा गरेको छ । जसअनुसार ‘दुई पुस्ता सँगसँगै’ नामक विशेष कार्यक्रम सञ्चालन गरिनेछ, जसमा हरेक वडामा अग्रजहरूको सम्मान र युवाहरूका लागि प्रशिक्षण कार्यक्रम एकसाथ आयोजना गरिनेछ । यसले पुस्तान्तरणलाई सहज बनाउँदै अनुभव र ऊर्जाको संयोजन गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, जनसंगठनहरूलाई समुदायसँग प्रत्यक्ष जोड्न ‘समुदायसँग जनसंगठन’ अभियान चलाइनेछ ।
पार्टीले आफ्ना सबै तहका कमिटीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने निर्णय पनि गरेको छ । बैठकहरूलाई थप प्रभावकारी बनाउन लघु प्रशिक्षणसहित सञ्चालन गर्ने परिपाटी बसालिनेछ । साथै, पार्टी कार्यालयहरूको व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन प्रदेश स्तरमा विशेष कार्यशालाहरूको आयोजना गरिने संगठन विभागले जनाएको छ ।