काठमाडौँ । नेपाली पूँजी बजारमा ब्लुचिप कम्पनीका रूपमा परिचित बुटवल पावर कम्पनीको सेयरमूल्य पछिल्लो समय लगातार बढ्दो छ ।
कम्पनीले केही महिना अगाडि आफ्नै पूर्ण लगानीमा स्थापना भएको न्याग्दी ग्रुप पावर कम्पनी को केही प्रतिशत सेयर दोस्रो बजारमा बिक्री गर्ने सूचना सार्वजनिक गरेसँगै, भविष्यमा आम्दानी बढ्ने अपेक्षा जगिँदा बजार मूल्यमा सकारात्मक असर देखिएको हो ।

यही बीचमा केही समूहले कम्पनीको सेयरमूल्यमा चालबाजी गर्न अनलाइन मिडियाको प्रयोग गर्दै भ्रामक समाचारहरू प्रकाशित गरिरहेको आरोप लगाइएको छ ।
३१ असार २०८२ को कारोबार अवधिमा एक अनलाइन माध्यममा ‘नर्वेजियन कम्पनीले बुटवल पावरको सेयर बिक्री गर्दैछ’ भन्ने आशयको समाचार प्रकाशित भएपछि सेयर मूल्य करिब ७ प्रतिशतले वृद्धि भई पुनः केही गिरावटसहित बन्द भएको थियो ।
कम्पनीले भन्यो : ‘भ्रामक समाचारबारे जानकारी छैन’
बुटवल पावर कम्पनीसँग सम्पर्क गर्दा उक्त समाचारको सत्यता पुष्टि नभएको प्रतिक्रिया प्राप्त भएको छ । कम्पनीले हालसम्म यस्तो कुनै आधिकारिक प्रक्रिया सुरु नगरेको जानकारी दिएको छ ।
नेपालको प्रचलित कानुन अनुसार, विदेशी लगानीकर्ताले कुनै पनि सूचीकृत कम्पनीमा आफ्नो सेयर बिक्री गर्न चाहेमा, त्यसका लागि कम्पनीको संचालक समिति, कम्पनी रजिस्ट्रार कार्यालय र धितोपत्र बोर्डको अनुमति अनिवार्य हुन्छ । तर यस्तो प्रकृया अहिलेसम्म नदेखिएकाले समाचारमा उठाइएका दावीप्रति संशय उत्पन्न भएको हो ।
यसअघि पनि विभिन्न अनलाइन माध्यममार्फत कम्पनीबारे असत्य सूचनाहरू प्रकाशित हुँदा सामान्य लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको थियो ।
बुटवल पावर कम्पनी हाल विदेशी लगानी संकलन गर्दै १,००० मेगावाट बराबरको विद्युत उत्पादन गर्ने दीर्घकालीन योजना लिएर अगाडि बढिरहेको छ ।
विगतदेखि नै नियमित प्रतिफल वितरण गर्ने, पारदर्शिता कायम गर्ने र नेपाली पूँजी बजारमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबीच लोकप्रियता कायम गर्न सफल कम्पनी हो ।