काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले आगामी दिनमा मौसम थप सक्रिय हुने जनाएको छ ।
महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रबल सम्भावना छ । बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ । यसैगरी, देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले सम्भावित वर्षाले निम्त्याउन सक्ने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ ।
ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ । महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई सम्भावित विपत्तिबाट बच्न आवश्यक पूर्वतयारीमा जुट्न र सतर्क रहन विशेष अनुरोध गरेको छ ।