काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उहाँहरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिनुभएको जानकारीबमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताउनुभयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको कुरा पार्टी महासचिवबाटै सार्वजनिक भइसकेको जिकिर गर्नुभयो ।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन उहाँहरूबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
पार्टी सचिव योगेश भट्टराईले पार्टीभित्र यो कित्ता र त्यो कित्ताका हिसाबले गरिने व्यवहार उचित नहुने भन्दै बाहिर विवाद बढाउनुभन्दा पार्टी नेतृत्व र पूर्वराष्ट्रपतिबीच सौहार्द छलफलबाट विषयको टुङ्गो लाग्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसहितका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।