काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी)बीच पुरुष तथा महिला क्रिकेट टोलीबीच वार्षिक रूपमा टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय खेल समावेश हुने गरी द्विपक्षीय क्रिकेट शृंखला गर्ने औपचारिक सम्झौता भएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता सन् २०२६ देखि सुरु हुने र चार वर्षका लागि लागु हुने जानकारी दिए ।

सम्झौताअनुसार दुवै देशले हरेक वर्ष कम्तीमा ३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छन् भने आवश्यकताअनुसार एकदिवसीय खेलहरू पनि थप गरिनेछ ।
एसियाली क्षेत्रका एसोसिएट राष्ट्रबीचको यो सहकार्य अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने र प्रतिस्पर्धात्मक क्रिकेट प्रवद्र्धन गर्ने उद्देश्यसहित गरिएको हो ।
क्यानका अनुसार यसले युवा तथा नयाँ खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनेछ ।
क्रिकेटमार्फत नेपाल–कुवेतबीचको सांस्कृतिक र खेलकुद सम्बन्धलाई अझ सुदृढ बनाउने आशा गरिएको छ ।
सम्झौताले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई खेलकुदको माध्यमबाट नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।