काठमाडौं । मंगलबार राष्ट्रिय सभामा बोल्ने नेकपा एमाले बाहेकका अधिकांश सांसद संघीय निजामती सेवा विधेयकमा प्रवेश गरे । उनीहरूले कुलिङ अफ पिरियडको आवश्यकता दर्शाउन खोजे ।
कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि निश्चित समयसम्म संवैधानिक, कूटनीतिक वा अन्य नियुक्तिका लागि अयोग्य हुने प्रावधान हो ।

सभामा बोल्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड २ वर्ष नभएर ३ वर्ष, ४ वर्ष पु¥याउनुपर्ने नयाँ प्रस्तावहरू ल्याए । एमालेका सांसदहरूले कुलिङ पिरियड नै आवश्यक छैन भनेर राखेको संशोधनमा उनीहरूले प्रश्न उठाए ।
तर, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरू कुलिङ पिरियड हटाउने भनेर आफैँले राखेको प्रस्तावमा उठेका प्रश्नहरूबारे मौन रहे ।
राष्ट्रिय सभामा निजामती विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । नेपाली कांग्रेसले कुलिङ पिरियड २ वर्ष नै राख्नु उयपुक्त हुने भनेर संशोधन राखेको छ । माओवादी केन्द्रले कुलिङ पिरियडको अवधि ३ वर्ष पु¥याउनुपर्ने प्रस्ताव राखेको छ ।
तर, एमालेका पाँचजना सांसदले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन हालेका छन् । एमालेका सांसदहरूको संशोधनलाई लिएर अन्य दलका सांसदहरूले प्रश्न गरेका हुन् ।