काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठुलो निराशा पैदा हुँदै गएको बताएका छन् ।
नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधा दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए । उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको पनि बताए । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताए । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने ‘सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुँदैन । तर यो बिचमा जनताको अपेक्षा र हाम्रो पोलिसीहरुको बिचमा के कन्ट्यारडिक्शन भयो, जसले ठुलो फ्रस्टेशन समाजमा पैदा हुँदै गएको छ । त्यसको समीक्षा गर्ने जिम्मेवारी पनि राजनीतिक दल, समाज, निजी क्षेत्र सबैको हो । किन भ्रष्टाचार दिनप्रतिदिन झन् बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ । अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरू यो अराजकता के कारणले बढेको छ भन्नेकुराको समीक्षा हुन जरुरी छ ।’
अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताए । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताए ।