काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र नसुध्रिएसम्म मुलुकमा आर्थिक उत्पादन र रोजगारी सिर्जना गर्न नसकिने टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक वृद्धि गरी रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवै सुध्रिनु आवश्यक रहेको बताएका हुन् ।

राजनीतिमा व्यक्तिवाद हाबी हुँदा जनताका समस्याहरू बढ्दै गएको उनको बुझाई छ । एकअर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने तर आफूले गरेका कामहरूबारे नबोल्ने प्रवृत्तिका कारण काँग्रेसप्रति जनविश्वास घट्दै गएको पनि बताए । उनले राजनीतिक विश्वसनीयता जनताप्रति गरेका प्रतिबद्धता पूरा गरेर मात्र कायम सकिने जिकिर गरे ।
उनले भने ‘अहिले जति आर्थिक उत्पादन र रोजगारी सिर्जना हुनुपर्ने हो त्यो भएको छैन । सरकार पनि सुध्रिनु पर्यो, निजी क्षेत्र पनि सुध्रिनुप¥यो । अब हामीले सत्य कुरा बोल्नुपर्यो । राजनीतिक क्षेत्रमा जो आएपनि महान् भन्ने कुराले समस्या भइरहेको छ । जनताले भनेको र आफूले प्रतिबद्धता गरेको कुराहरू पूरा गर्नुपर्यो । अनि मात्र हाम्रो विश्वसनीयता पनि बढ्छ । अहिले हाम्रो राजनीतिक पार्टीमाथि पनि केही गरेन भनेर आरोप लाग्ने गरेको छ । गर्न त यति गरेको भनेर साध्य छैन । तर हामी व्यक्तिवादी भयौँ । एकअर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने आफूले गरेको कुरा भन्दै नभन्ने बरु अरूका कुराहरू टिपेर आफ्नै मान्छेलाई आक्रमण गर्ने यो प्रवृत्ति हामीले छोड्नुपर्छ ।’
उनले काँग्रेसले मुलुकको विकासको लागि धेरै कामहरू गरेको भएपनि व्यक्तिवादमा अल्झिँदा समस्या भएको बताए ।