काठमाडौं । मुलुकमा नयाँ जनादेशका लागि आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन गरिँदैछ । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मनोनयनका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
गत भदौमा विकसित ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक अस्थिरताका कारण २०७९ मा निर्वाचित प्रतिनिधिसभा विघटन भएपछि देश पुनः निर्वाचनको मैदानमा होमिएको हो । यसै सन्दर्भमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई ‘विशेष दिन’ भन्दै नयाँ भविष्यको सुरुवातको रूपमा चित्रण गरेका छन् । मनोनयन दर्ताको बिहानीमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै ओलीले आजको दिनलाई आशा र समृद्धिको प्रतीकका रूपमा अथ्र्याएका हुन् ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ । हामीलाई पूरा विश्वास छ– हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ ।’ उनले जलेका सपनाहरूलाई पुनर्जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार पार्न सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान समेत गरेका छन् ।
अध्यक्ष ओलीले आज झापा क्षेत्र नम्बर ५ बाट एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । उनीसँगै देशका शीर्ष नेताहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा तामझामका साथ मनोनयन दर्ता गर्दैछन् ।





