काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ४ गते आइतबारदेखि औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने भएको छ । संघीय राजधानी काठमाडौंमा विशेष शक्ति प्रदर्शनसहित एमालेले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिन लागेको हो ।
एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने विशेष ¥याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । निर्वाचनका लागि कार्यकर्ताहरूलाई आवश्यक निर्देशन दिँदै उनले सोही मञ्चबाट चुनावी शंखघोष गर्ने कार्यक्रम तय भएको ढुंगेलले बताए ।

बागमती प्रदेशका उपसचिव भक्तकुमारी लामाले प्रदेश कमिटीअन्तर्गत पर्ने १८ वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने गरी रणनीति बनाइएको दाबी गरिन् । उनले भनिन्, ‘हामीले उपत्यकाका तीन जिल्ला बाहेकका १८ क्षेत्रमा एमालेलाई विजयी गराउने संकल्प गरेका छौँ, प्रज्ञा भवनको सभाले त्यसको आधिकारिक घोषणा गर्नेछ ।’ गत भदौमा भएको ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप संसद विघटन भएपछि पाँच वर्ष नपुग्दै यो निर्वाचन हुन लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटको सङ्घारबाट जोगिएको र अहिले पूर्ण रूपमा एकजुट रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनले पार्टीभित्रका सबै अन्योल चिरेर स्पष्ट मार्गनिर्देश गरेको बताए । उनले नेपाली कांग्रेसमा जस्तै समस्या एमालेमा पनि सिर्जना गर्न खोजिए पनि त्यो प्रयास असफल भएको उल्लेख गरे । आफ्नो प्रधानमन्त्री कालको स्मरण गर्दै उनले भने, ‘त्यसबेला कामको चापले गर्दा सुत्नसमेत पाइँदैनथ्यो, सरकार चलाउनेले त्यसरी नै खट्नुपर्छ ।’
उनले अहिलेको सरकारले थिति र विधिको शासन कायम गर्न नसकेको आरोप समेत लगाए । विशेषगरी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएको प्रसङ्गमा टिप्पणी गर्दै उनले महान्यायाधिवक्ताको कार्यालयले इतिहासमै कलंकित काम गरेको बताए । कसैले ठगी गरे पनि आममाफी र मुद्दा फिर्ता पाउने अवस्थाले सुशासन कमजोर बनेको उनको तर्क थियो ।
एमालेका सचिव महेश बस्नेत र महासचिव शंकर पोखरेलले भने सरकारले निर्वाचनको उचित वातावरण बनाउन नसकेको भन्दै आलोचना गरेका छन् । सचिव बस्नेतले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीहरू अझै फेला नपर्नु सुरक्षा चुनौती भएको बताए । उनले भने, ‘हामी चुनावबाट भागेका छैनौँ, तर सुरक्षा निकायको मनोबल खस्किएको अवस्थामा निष्पक्ष निर्वाचन कसरी होला ?’





