काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन गरिँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मनोनयनका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।
गएको भदौमा भएको ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक अस्थिरताका कारण २०७९ मा निर्वाचित प्रतिनिधिसभा विघटन भएपछि देश नयाँ जनादेशका लागि चुनावी मैदानमा होमिएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपिसँगै आफू आवद्ध रहेको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको आधिकारिक निस्सा पेश गर्नुपर्नेछ ।

निर्वाचनलाई भड्किलो हुन नदिन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले विशेष आचारसंहिता समेत जारी गरेको छ । भीडभाड कम गर्न र प्रक्रियालाई सहज बनाउन आयोगले प्रमुख दलहरूका लागि फरक–फरक समय समेत तोकेको छ ।
अधिकांश ठूला राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना उम्मेदवारहरूलाई आधिकारिक पत्र (टिकट) वितरण गरिसकेका छन् । नेपाली कांग्रेसले भने केही क्षेत्रमा उम्मेदवार चयनको अन्तिम कसरत गरिरहेको र आज बिहानसम्म सबै क्षेत्रको टुंगो लाग्ने जनाएको छ ।
निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अन्तरिम सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गरिसकेको छ । सुरक्षा व्यवस्था मजबुत बनाउन ‘निर्वाचन प्रहरी’ छनोटको प्रक्रिया समेत अघि बढाइएको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली (पहिलो हुने निर्वाचित हुने) मार्फत १६५ जना र समानुपातिक प्रणालीमार्फत ११० जना चयन हुने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।





