काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निः वर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।
शुक्रवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सभापति देउवासहितका नेताहरूसँग निरन्तर संवादमा रहेको बताएका हुन् ।

सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिए । हिजोका कुरालाई लिएर काँग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई थियो । उनले निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिए ।
सभापति थापाले भने ‘नेपाली काँग्रेस पार्टीमा अहिले नयाँ नेतृत्व आएको छ । र यो अधिवेशनका क्रममा पार्टी भित्र केही अप्ठयाराहरु पनि रहे । तर म सबै साथीहरूलाई अनुरोध गर्न चाहन्छु–नेपाली काँग्रेस पार्टीले यस्ता अप्ठयाराहरु सहनसक्ने क्षमता नेपाली काँग्रेससँग छ । म अहिले नेपाली काँग्रेसका निः वर्तमान सभापति श्रद्धेय नेता शेरबहादुर देउवासँग पनि निरन्तर संवादमा छु । पार्टीका अरू नेताहरूसँग पनि निरन्तर संवादमा छु । नेपाली काँग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचनतर्फ अगाडि बढिरहेको छ । हिजोको कुरालाई लिएर कहीँकतै कसैले पनि मनमा पनि केही कुरा नराख्नु होला । र, फागुन २१ गते पछाडि पनि पार्टीभित्र सबै साथीहरू एक ढिक्का भएर मिलेर हामी अगाडि बढ्छौँ । त्यसैले सबै जना एक ढिक्का भएर जानुपर्छ । कहीँकतै कसैलाई पनि हामीहरू हिजो कहाँ उभियौ भन्ने आधारमा न पार्टीको नेतृत्वले त्यो व्यवहार गर्छ, न गर्न हुन्छ । हामी सबै एक ढिक्का भएर जान्छौ । त्यसकारण मेरो पहिलो आग्रह नेपाली काँग्रेस पार्टी भित्र अव हिजोको कुरामा अड्किएर बस्ने समय कोहीसँग पनि छैन । हामी एक ढिक्का, एक मन भएर निर्वाचनमा जाने हो । पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरूलाई पार्टीले कारबाही गर्छ ।’
सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी न राख्ने पनि बताए ।





