काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले अहिले लडाइँ देश जलाउने की देश बनाउनेहरूको बीचमा रहेको बताए । साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गरे । उनले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरू कहिल्यै सफल नहुने बताए । उनले उनीहरूले देश जलाएको पनि स्वीकार गरिसकेको बताए ।
अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानुनको राज बनाउँदै जाने भन्ने हिसाब आगामी निर्वाचनले गर्ने बताए । ओखलढुङ्गाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गरे ।
उनले भने ‘अहिले लडाइँ देश जलाउने की देश बनाउनेहरूको बीचमा छ । हामी देश बनाउने शक्ति हौँ । अरू देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरूले स्विकारिसके हामी हौँ भनेर । अब भविष्यमा देश जलाउँदै जाने की बनाउँदै जाने रु अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानुनको राज बनाउँदै जाने की देशमा बढ्दै जाओस् भनेर अनुकूल बनाउने, देशमा लडाइँ गराउनेहरू छन् । म विश्वस्त छु, यहाँहरूले अस्मितालाई विजयी गराउनुहुनेछ । सूर्य चिन्हलाई विजयी गराउनुहुनेछ । नेकपा एमालेलाई विजयी गराउनुहुनेछ । देशलाई विजयी गराउनुहुनेछ । देशलाई हार्न दिनु हुनेछैन । अस्मिता हार्नु भनेको १६५ मध्ये एउटा ठाउँमा देश हार्नु हो । एउटा ठाउँमा पनि देश हार्नु हुँदैन । अस्मितालाई जिताएर पठाउनुस् । मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन् एउटा बतासे र एउटा साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन । यी बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यी बतासका खेती गरिरहेका छन् । यिनीहरूका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो की होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनी गर्न जानेको छ ।’
अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरूले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताए ।





