काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि पैसा भन्दा पनि स्पष्ट दृष्टिकोण र सोच आवश्यक पर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आयोजित ‘निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रूपान्तरण’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई सरकारी जागिरको मात्र भर नपरी उद्यमशीलतामा जोड दिन आग्रह गरे । उनले सरकारले लगानीको वातावरण बनाउने र निजी क्षेत्रले उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

पूर्वाधारमा फड्कोः ‘पेट्रोम्याक्स’ देखि ‘स्मार्ट बाटो’ सम्म
विगत र वर्तमानको तुलना गर्दै ओलीले आफ्नो क्षेत्रमा भएको विकासको चर्चा गरे ।
‘म उम्मेदवार भएर यस ठाउँमा आउँदा बिजुली थिएन, पेट्रोम्याक्स बालेर बेलुकाको सभा गरेका थियौँ । आज विद्युत् नपुगेको कुनै कुनो छैन ।’ उनले भने ।
पहिले बाटो नहुँदा गाडीमा कोदालो बोकेर हिँड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अहिले दमकमा ६ हजार सिटी रिक्सा चल्ने पक्की बाटो र घरको झ्यालबाटै पिच बाटो देख्न सकिने अवस्था आएको बताए । खानेपानी, शिक्षा र स्वास्थ्यमा ठुलो परिवर्तन आएको उनको दाबी छ ।
‘सबै काम भइसक्यो म भन्दिनँ, तर केही पनि भएको छैन भन्नु गलत हो ।’ उनले स्पष्ट पारे ।
विकास पैसाले होइन, आइडियाले हुन्छ
अध्यक्ष ओलीले विकासका लागि पुँजी भन्दा पनि सोच महत्त्वपूर्ण हुने दृष्टान्त पेस गरे । चीन र स्क्यान्डिनेभियन देशहरूको उदाहरण दिँदै उनले भने ‘पैसाले धनी बनाउने होइन, विकास आइडिया र दृष्टिकोणले गर्छ र चीन कुनै बेला अति गरिब थियो, तर आज त्यहाँ गरिबी छैन। पैसा बाँडेर होइन, भिजनले देश बनेको हो ।’
उनले ‘म बनाउँछु मेरो देश’ भन्ने नारा सम्पूर्ण नेपालीको सङ्कल्प हुनुपर्ने बताए ।
कृषिको आधुनिकीकरण र ‘भूमि बैंक’ को अवधारणा
हाल ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आश्रित हुनुलाई मानव संसाधनको दुरुपयोगको संज्ञा दिँदै ओलीले यसलाई १५ देखि २० प्रतिशतमा झार्नुपर्ने बताए । बाँकी जनशक्तिलाई उद्योग, वाणिज्य र सेवा क्षेत्रमा लगाउनुपर्ने उनको भनाइ छ ।
कृषिलाई आधुनिकीकरण र ठुलो स्केलमा (सुपर जोन, ब्लक) लैजानुपर्ने बताउँदै उनले ‘भूमि बैंक’ को अवधारणा ल्याएको प्रस्ट पारे ।
बाँदरले दुःख दिएको ठाउँमा कागती र अकबरे खुर्सानीको खेती गर्न सुझाव दिँदै उनले भने ‘कागती र अकबरे खुर्सानी बाँदरले खाँदैन । १० कट्ठामा कागती लगाउँदा विदेशमा भन्दा बढी स्वदेशमै कमाउन सकिन्छ ।’
उनले रुपन्देहीको छपियामा किसानले माछा पालनबाटै ३ अर्बको कारोबार गरेको उदाहरणसमेत प्रस्तुत गरे ।
सरकारी जागिरको भर नपरौँ, उद्यमशीलतामा लागौँ
युवाहरूलाई लोकसेवा र सरकारी जागिरको मात्र पछि नलाग्न ओलीले सुझाव दिए । ‘सरकारी जागिरमा सिट सीमित हुन्छ, धेरैले जाँच दिन्छन् । प्रहरी वा अन्य जागिरमा सानो निहुँ खोजेर फालिन्छ ।’ उनले भने ‘त्यसैले हामी सिर्जनात्मक बनौँ, उद्यमशीलता सुरु गरौँ ।’
सरकारले युवाहरूलाई बिना धितो २५ लाख र महिलाहरूलाई १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने व्यवस्था गरेको स्मरण गराउँदै उनले सानो पुँजीबाट पनि ठुलो व्यवसाय खडा गर्न सकिने बताए । कोभिडको समयमा झापाकै एक युवाले मास्क उत्पादन सुरु गरेर अहिले दर्जनौँलाई रोजगारी दिएको उदाहरण उनले सुनाए ।
बिदेसिएका युवालाई स्वदेश फर्केर काम गर्न आग्रह
अस्ट्रेलिया, अमेरिका जस्ता देशमा धेरै तलब पाइने भए पनि युवाहरूले त्यहाँ सिकेको सीप र प्रविधि स्वदेशमै प्रयोग गर्नुपर्ने ओलीको भनाइ छ । चीनले जर्मनी र अमेरिकामा लाखौँ विद्यार्थी पढाएर स्वदेश फर्काएको र त्यसैले चीन बनेको उदाहरण दिँदै उनले भने ‘सिंगापुर र इजरायल जस्ता देशहरू कुनै बेला अत्यन्तै गरिब थिए तर प्रविधि र आइडियाले आज धनी बनेका छन् । हामीले पनि हाम्रा उत्पादनमा टेक्नोलोजी र भ्यालु एड गरेर देशलाई समृद्ध बनाउनुपर्छ ।’
रेमिट्यान्स होइन, उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ
अध्यक्ष ओलीले नेपाललाई रेमिट्यान्समा आधारित नभई उत्पादनमा आधारित अर्थतन्त्र ९प्रोडक्सन बेस इकोनोमी० तर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए । ओलीले प्राकृतिक स्रोत, विज्ञान–प्रविधि र नवप्रवर्तनको प्रयोगबाट देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए । सरकार परिवर्तन हुनु एउटा सामान्य प्रक्रिया र टर्निङ पोइन्ट मात्र भएको उल्लेख गर्दै उनले मुख्य उद्देश्य देशको आर्थिक रूपान्तरण र समृद्धि रहेको प्रस्ट पारे ।
ग्यास र फलाम खानीबाट आर्थिक समृद्धि
अध्यक्ष ओलीले दैलेखमा रहेको १ अर्ब ८० करोड घन मिटर ग्यास खानीको उत्खननले नेपालको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउने दाबी गरे । यसबाट नेपाल ग्यास निर्यातकर्ता देश बन्नसक्ने उनको भनाइ छ । त्यसैगरी, नवलपरासीको धौवादी फलाम खानीबाट अबको तीन वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उनले बताए ।
‘फलाम खानी सञ्चालनमा आएपछि आइरन र स्टिल आयात गर्नुपर्दैन। आफ्नै कच्चा पदार्थबाट अटोमोबाइल्स, हस्पिटल र विद्यालयका उपकरण निर्माण गर्ने कारखानाहरू हामी आफैँ खोल्न सक्छौँ ।’ उनले भने ।
आईटी, एआई र ग्रीन हाइड्रोजनमा जोड
नेपालको उच्च पहाडी भूभाग चिसो हुने भएकाले सूचना प्रविधि ९आईटी० र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सञ्चालनका लागि अत्यन्तै उपयुक्त रहेको ओलीले बताए । एआई र आईटीका लागि धेरै विद्युत् र चिसो वातावरण आवश्यक पर्ने हुँदा नेपालले यसबाट ठुलो लाभ लिनसक्ने उनको भनाइ छ । साथै, उनले सन् २०१९ मै आफूले ग्रीन हाइड्रोजनको अवधारणा अघि सारेको स्मरण गर्दै भविष्यमा यसलाई गाडी र हवाई इन्धनका रूपमा प्रयोग गर्न सकिने सम्भावना औँल्याए ।
रेमिट्यान्सको विकल्प र आत्मनिर्भरता
रेमिट्यान्समा भर पर्ने अर्थतन्त्र अत्यन्तै जोखिमपूर्ण हुने भन्दै उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । नेपालले लगाउने ढाका टोपीको उदाहरण दिँदै उनले भने ‘हामी ढाका टोपी मात्रै बुन्छौँ, तर त्यसमा प्रयोग हुने धागो, सियो र मेसिन सबै विदेशी हुन्। अब हामी खानेकुरा र लाउने कुरामा आत्मनिर्भर हुनुपर्छ ।’
विज्ञान र प्रविधिको प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
मौलिक हक र सडक मानवमुक्त अभियान
शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास मानिसका पाँच आधारभूत मौलिक हक भएको उल्लेख गर्दै ओलीले यी हक प्राप्तिका लागि नागरिक आफैँ पनि कर्मशील हुनुपर्ने बताए ।
‘सरकारले व्यवस्थापन गर्छ, तर खाने र लाउने मेरो हक हो भनेर नागरिकले कामै नगरी बस्न मिल्दैन, कमाउनुपर्छ ।’ उनले भने ।
आफू २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा सडक बालबालिका र सडक मानवमुक्त अभियान चलाएको उनले स्मरण गरे । झापाको दमकमा पनि तत्कालीन उपमेयर गीता अधिकारीको नेतृत्वमा सडक मानवहरूको उद्धार गरिएको उनले बताए । नेपाल भिखमंगाहरूको देश नभएको भन्दै उनले सडक र मन्दिर आसपासमा भिख माग्ने प्रवृत्तिको अन्त्य गरिएको र वास्तविक गरिबको व्यवस्थापन सरकारले गर्ने प्रस्ट पारे ।





