काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । नेपाली युवा महिला टोली आज (शनिबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ भने सोमबार आयोजक बंगलादेशसँगको खेल नै निर्णायक बन्ने देखिन्छ ।
ढाकास्थित किङ्स एरेनामा आजको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । डबल राउन्ड रोबिन लिग प्रणालीमा भइरहेको प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघिको भेटमा नेपालले भुटानलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालले ४ खेलबाट ९ अंक जोडेको छ भने आयोजक बंगलादेशले ३ खेलबाटै ९ अंक बटुलेर शीर्ष स्थानमा छ । नेपाललाई उपाधि जित्नका लागि आज भुटानलाई हराएर सोमबार हुने अन्तिम खेलमा बंगलादेशलाई पनि पराजित गर्नुपर्नेछ । बंगलादेशसँगको खेल बराबरीमा रोकिए पनि आयोजक टोली च्याम्पियन बन्नेछ ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई दुवै खेलमा समान ७–० को फराकिलो जित निकालेको थियो । यद्यपि, आयोजक बंगलादेशसँगको पहिलो खेलमा भने नेपाल ३–२ ले पराजित भएको थियो । सबै खेल सकिएपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले नै च्याम्पियनसिपको उपाधि उचाल्नेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र श्रीलंका सहभागी छन् ।