काठमाडौं । सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न एमाले केन्द्रीय सचिवालयको वैठक बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।
आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने जनाइएको छ । संशोधनको खाका बनाउन यसअघि नै पार्टी उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् । आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।

आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ। एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ ।
‘आजबाट विधान संशोधन प्रतिवेदनको खाकामाथि छलफल सुरु हुनेछ । सचिवालयका नेताहरूले आफ्ना कुरा राखेपछि उक्त खाका पोलिटब्यूरो र केन्द्रीय कमिटीमा लगिनेछ,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘विधानको खाका बैठकमा राखेसँगै विधान महाधिवेशनको एजेण्डामाथि औपचारिक छलफल पनि सुरू हुनेछ ।’
यो विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने स्रोत बताउँछ । स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यी दुवै व्यवस्था हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी छ ।