काठमाडौं । विश्वभर फ्रेन्चाइज क्रिकेट लिगहरूको लोकप्रियता चुलिएको बेला, नेपालले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो सिजनमै आफूलाई स्थापित गरिसकेको छ ।
आईपीएल, बिग ब्यास, सीपीएल जस्ता स्थापित लिगहरूसँगै एनपीएलले विश्वका सबभन्दा मूल्यवान फ्रेन्चाइज लिगहरूको शीर्ष पाँचमा पर्न सफल भएको थियो । अब दोस्रो सिजन अझ भव्यताका साथ त्रिभवुन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारबाट सुरु हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पहिलो सिजनको अपार सफलतापछि दोस्रो एनपीएललाई अझ उत्कृष्ट बनाउने चुनौती स्वीकारेको बताए ।
उनले सबै पक्षको साथ र सहयोगले यो सिजन पनि सफल हुने विश्वास व्यक्त गरे । करिब एक महिनासम्म चल्ने यो प्रतियोगिता मङ्सिर २७ गते उपाधि भिडन्तसँगै समापन हुने छ ।
यस पटक कुल ३२ खेल खेलिने छन्, जसमा सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर समावेश छन् ।





