काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकहरूमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताएका छन् ।
शनिवार बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गरे ।
यसमा आत्मकेन्द्रित भएर नभई गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । राष्ट्र र जनता केन्द्रित भएर काम गर्न निर्देशन दिए । चालु अधिवेशनमा धेरै विधेयकहरू पारित गर्नुपर्ने भन्दै विधेयक जसो पायो, त्यसै पारित हुन नदिन पार्टीका सांसदहरूलाई निर्देशन दिए ।
ठिक विधेयक पारित हुनुपर्ने र गलत विधेयकले देशलाई वैचारिक, व्यवहारिक हिसाबले गलत दिशामा लैजानसक्ने बताए ।
प्रधानमन्त्री ओलीले एमसिसी अब नआउनसक्ने भन्दै एमसिसी आएन भने सहेर अघि बढ्नुको विकल्प नरहेको बताए । राष्ट्रका बिचमा गरिएका सम्झौताहरू आफ्नो देशको कानुन भन्दा माथि हुने जिकिर गरे ।





