काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।

‘अनुसन्धान अझै सकिएको छैन। त्यसैले थप दुई दिनको म्याद पाएका छौं,’ उनले भने ।
परिसरले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।
यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन् । जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो । बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो ।
प्रहरीले केही दिनमै सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाउँदैछ । उक्त प्रतिवेदन बुझाएसँगै सरकारी वकिलले अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।
यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन् ।