काठमाडौँ । लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीले भने ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।’
उनले थप भने ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’
नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट् अशोकद्वारा ई.पु. २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्त्वहरू समावेश गरिएको छ ।
सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्ति दीपलाई प्रतिनिधित्व गर्ने जनाएको छ ।
वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम ऊर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएको छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको बताइएको छ ।