कपिलवस्तु । काठमाडौंबाट दाङका लागि छुटेको यात्रुवाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९ मा भएको उक्त दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २५ जना यात्रु सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस बिहान करिब ४ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीले चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ, अन्य सबैको अवस्था सामान्य रहेको छ,’ डिएसपी अधिकारीले भने, ‘धेरैजसो सामान्य घाइतेहरू उपचारपछि घर फर्किने (डिस्चार्ज) प्रक्रियामा हुनुहुन्छ ।’
घाइतेहरूको कपिलवस्तु र छिमेकी जिल्ला रुपन्देहीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।