एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो ।
यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक सातासम्म प्रयास हुँदाहुँदै अड्किएको छ । दुवै पक्षले एकअर्कामाथि वार्ता अवरुद्ध पार्ने आरोप लगाएका छन् ।

गाजामा हिंसा जारी रहँदा, युद्धका कारण दुई करोडभन्दा बढी जनसंख्या मध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेका छन् । खाद्य संकट, इन्धनको चरम अभाव र अस्पतालहरूको सेवा प्रभावित बनेको भन्दै संयुक्त राष्ट्रसंघका सात निकायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
गाजाको नुसेरात शिविरमा पानीको धारा नजिक भएको ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जना मारिएको जनाइएको छ । गाजा सिटीमा रहेको एक व्यस्त बजारमा गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको हो ।
स्थानीय बासिन्दाहरूले अनुभव सुनाउँदै भने “हामी बिहानै ठूलो विस्फोटको आवाजले ब्यूँझियौँ । छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भयो र उनका साना बालबालिकासहित सबै भग्नावशेषमा पुरिए ।”
अर्का एक बासिन्दा महमुद अल–शामीले भने,“हामीमाथि जे भइरहेको छ, त्यो मानव सभ्यताको इतिहासमै कहिल्यै भएको थिएन । अब यस युद्धको अन्त्य हुनुपर्छ ।”
गाजाको दक्षिणी सागरकिनारस्थित अल–मावासी क्षेत्रमा विस्थापित बसेको पालमाथि भएको आक्रमणमा पनि तीन जना मारिएका छन् ।
१५० भन्दा बढी स्थानमा आक्रमण
इजरायली सेनाले पछिल्ला २४ घण्टामा गाजा क्षेत्रमा १५० भन्दा बढी स्थानमा आक्रमण गरेको बताएको छ । ती आक्रमणमा हमासका लडाकु, हतियार भण्डारण केन्द्र, तोप तथा साना हतियार प्रहार गर्ने ठाउँहरू समावेश छन् ।
युद्धग्रस्त क्षेत्रमा सञ्चारको अभाव र पहुँचको कठिनाइका कारण मृतकको संख्या र घटनाको स्वतन्त्र पुष्टि गर्न सकिएको छैन ।
यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको हो । उक्त दिन एक हजार २१९ जना इजरायली नागरिकको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए ।
हालसम्म ४९ जना अझै बन्धकमा रहेको जनाइएको छ, जसमध्ये २७ जनालाई मृत घोषणा गरिएको छ ।
हमासको अधीनमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा ५८ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ, जसमा धेरैजसो सर्वसाधारण छन् । संयुक्त राष्ट्रसंघले पनि यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।
गम्भीर चिन्ता : जबरजस्ती विस्थापनको योजना ?
वार्तामा संलग्न प्यालेस्टिनी स्रोतका अनुसार, हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग राखेको छ । तर इजरायलले ४० प्रतिशतभन्दा बढी भू–भागमा सेना कायम राख्ने योजना प्रस्तुत गरेको छ ।
स्रोतका अनुसार, इजरायली योजनाले हजारौँ प्यालेस्टिनीलाई गाजाको दक्षिण भागतर्फ धकेल्ने प्रयास भइरहेको छ, जसको अन्तिम उद्देश्य तिनीहरूलाई अन्य देशतर्फ जबरजस्ती विस्थापित गर्ने हो ।
इजरायली अधिकारीले आफूहरूले वार्तामा लचिलो भूमिका खेलेको तर हमास कडा अडानमै अडिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्थायी युद्धविराम पछि मात्रै स्थायी सम्झौताको कुरा गर्न सकिने र त्यो पनि हमासले हातहतियार छाडे मात्र सम्भव हुने बताए ।