काठमाडौं । नेपाली युवा टोलीकी फरवार्ड मीना देउवाले ह्याट्रिक पूरा गरेपछि नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलङ्कामाथि गोलको वर्षा गरेको छ । बङ्गलादेशको ढाकामा मंगलबार राति भएको एकपक्षीय खेलमा नेपालले श्रीलङ्कालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपाधि दाबेदारी कायमै राखेको छ ।
बसुन्धरा किङ्स एरेनामा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपाल सुरुदेखि नै श्रीलङ्कामाथि हाबी भयो । खेलको आठौँ मिनेटमा मीना देउवाले गोलको खाता खोलेपछि नेपाली टोलीले पछाडि फर्केर हेर्नुपरेन । त्यसको ५ मिनेट नबित्दै १३ औं मिनेटमा समीक्षा मगरले सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । पहिलो हाफको अन्त्यतिर नेपाल झनै आक्रामक बन्यो ।

४२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् भने त्यसलगत्तै पूर्णिमा राईले दुई गोल थप्दै मध्यान्तरसम्म नेपाललाई ५–० को बलियो स्थितिमा पुर्याइन्। दोस्रो हाफमा पनि नेपालले आक्रमणको सिलसिला जारी राख्यो । खेलको ७० औं मिनेटमा मीना देउवाले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि खेलको इन्जुरी समयमा सरिता नाथले गोल गर्दै नेपाललाई ७–० को सानदार जित दिलाइन् ।
यो प्रभावशाली जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ र शीर्ष स्थानको दाबेदारीलाई जीवितै राखेको छ । आयोजक बङ्गलादेश ९ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजय भोगेको थियो । प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको श्रीलङ्का भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।