काठमाडौँ । आगामी वडा दसैँको फूलपातीको भव्यतासँगै रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो ।

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् ।
समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ । दृश्यहरूले फिल्मको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछन् ।
पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘बलिदान– एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो । विभिन्न चरणको छायाङ्कन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौँ, बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ– ‘यो ज्यान बलिदान’। सुरुदेखि अन्त्यसम्म पटक पटक हेरिएका दृश्यहरू, सूक्ष्म कुरामा दिएको ध्यान र हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ। ’
उनका अनुसार, ‘बलिदान’ विदेशी चलचित्रहरूको भीडमा पनि आत्मबल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ। उनले चलचित्रलाई गाउँ–सहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार–प्रसार यात्रा सुरु गरिएको जनाए ।
यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए । यसै गरी, चलचित्रको प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको प्रि–टिजरले निकै चर्चा पाएको थियो । त्यस्तै, चलचित्र घोषणादेखि हालसम्म सार्वजनिक गरिएका समीर भट्ट र नायिका कविता रायका पात्र परिचय दिने पोस्टरहरूले पनि उत्तिकै चर्चा पाएका थिए ।
‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।