काठमाडौँ । नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरुद्धमा आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू सर्वोच्च जाने भएको हो ।

शनिवार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा।प्रकाशशरण महतले जानकारी दिए । उनले आयोगको निर्णय विरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताए ।
उनले आयोगले आफूहरूको कुरा समेत नसुनीकन एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाए । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरीकन दूषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ । काँग्रेसलाई क्षति पुर्याउनेगरी आयोगले निर्णय आफूहरूलाई अमान्य भएको उनले बताए ।
उनले काँग्रेसको विधान र निर्वाचन सम्बन्धी कानुनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दूषित मनसायबाट निर्णय गरेको उल्लेख गरे । यसको विरुद्ध अदालत जाने र अदालतले आफूहरूलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने ‘तथाकथित विशेष महाधिशेनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् रूपमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली काँग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रस्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । भोली हामी यसको विरुद्धमा सर्वोच्च अदालतमा जान्छौँ । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाईकन, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरूले पूरा गर्नुभएन । यो नजिर हाम्रो विधान, हाम्रो निर्वाचन सम्बन्धी जुन व्यवस्था छ, यो कुनै पनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ । यो अन्यायपूर्ण दूषित मनसायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाइ गर्ने ठाउँ हो । त्यसो भएको हुनाले सर्वोच्च अदालतमा हामी हाम्रो मुद्दा पेस गर्छौँ र यसको विरुद्धमा जान्छौँ ।’
उनले नेपाली काँग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरूसँगै रहेको पनि दाबी गरे । आयोगको निर्णयलाई अदालतले सच्याउने उनको दाबी छ ।





