काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)सँग भएको पुरानो सहमति कायम राख्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँगको सहमतिबारे उठेका प्रश्नहरूको बीच कांग्रेसले यो स्पष्ट पारेको हो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले भने, ‘यो राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रूपमा बुझ्नु हुँदैन । वर्तमान केन्द्रीय समिति अघिल्लो समितिको अविछिन्न निरन्तरता हो । एमालेसँग गरिएको सहमति कायमै रहन्छ ।’
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । जसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित भएका हुन् । उनको स्थानमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले मनोनित गर्नेछन् ।
बाँकी १८ पदका लागि गत पुस २३ गते मनोनयन दर्ता भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि कुल ४४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस र एमालेले भागबण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिका प्रमुख÷उपप्रमुख हुन्छन् । सातवटै प्रदेशमा गरी ५५० जना प्रदेश सभा सदस्य छन् भने ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १,५०६ जना स्थानीय तह पदाधिकारी मतदाता रहन्छन् ।





