काठमाडौं । रौतहटमा चार वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु गराएको अभियोगमा पक्राउ परेका चालकविरुद्ध प्रहरीले ‘सवारी ज्यान’ मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको छ ।
जिल्ला अदालत रौतहटले शुक्रबार चालक शेख मुस्ताखलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

परोहा नगरपालिका–३ का २७ वर्षीय मुस्ताखले चलाएको बा १५ च ४२४४ नम्बरको कारले बिहीबार दिउँसो इशनाथ नगरपालिका–३ मा स्थानीय अल्फा खातुनलाई ठक्कर दिएको थियो । चुनावी प्रचारका क्रममा तीव्र गतिमा दौडिरहेको गाडीको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरको नाममा रहेको पुष्टि भएको छ । आफ्नै उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको गाडीबाट बालिकाको ज्यान गएपछि रौतहटमा रास्वपाको राजनीतिक जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णुप्रदीप बस्यालले अदालतबाट ५ दिनको म्याद थप भएसँगै दुर्घटनाको प्राविधिक पक्ष र चालकको लापरबाहीबारे गहन अनुसन्धान भइरहेको जानकारी दिए । “हामीले चालकलाई हिरासतमा लिएका छौँ, कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्छ,” डीएसपी बस्यालले भने ।
प्रत्यक्षदर्शीका अनुसार बालिकालाई ठक्कर दिएपछि पनि गाडी नरोकिएको र पछाडिको पाङ्ग्राले समेत किचेको दृश्य देखिने तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।





